"देशको आर्थिक विकासको मूल आधार नै युवा उद्यमशीलता हो। खेलकुदको बढ्दो लोकप्रियता, साहसिक खेलको प्रख्यातता, पूर्वाधारमा रणनीतिक लगानी र दिगो खेलकुद इकोसिस्टम निर्माण गरेर नेपालले आफ्नो सफ्ट पावर र अर्थतन्त्रलाई नयाँ उचाइमा पुर्याउन सक्छ।"
उद्यमशीलता, विकास र युवा
अर्थशास्त्री जोसेज सुम्पिटरले आफ्नो पुस्तक मार्फत अन्ट्रप्रनरशीपको अवधारणालाई सन् १९३४ मा नै सैद्धान्तिक स्वरूप दिएका छन् । त्यही परिभाषा एक प्रकारले अन्ट्रप्रनरशीपको सनातनी र सर्वस्वीकार्य परिभाषा रहेको छ भन्दा अत्युक्ति हुँदैन । उनले सारमा पाँच प्रकारका गतिविधिलाई अन्ट्रप्रनरशीप भनेका छन् ।
- उपभोक्ताहरू अहिलेसम्म जानकार नभएका नयाँ वस्तुहरूलाई बजारमा प्रवेश गराउनु ।
- उत्पादनको नयाँ तरिका सुरुवात गराउनु वा वस्तुको व्यापार गर्न नयाँ तरिका अपनाउनु ।
- वस्तुको कारोबारमा लागि कुनै नयाँ क्षेत्रमा बजार खोल्नु वा बजार अस्तित्वमै नरहेका ठाउँमा बजार निर्माण गर्नु ।
- कच्चा पदार्थ अथवा अर्ध प्रशोधित वस्तुको आपूर्ति श्रोत व्यावसायिक ढङ्गले नियन्त्रण गर्नु ।
- कुनै उद्योगलाई नयाँ ढङ्गले व्यवस्थित गर्नु ।
भनेर अर्थशास्त्री डा. अच्युत वाग्लेले नेपालमा उद्यमशीलता विकासमा चुनौती भन्ने विचारमा अर्थशास्त्री जोसेज सुम्पिटरले पुस्तकमा लेखेका कुराहरू उल्लेख गरेको पाइन्छ ।
त्यसै गरी अर्थशास्त्री डा. मोहम्मद युनुसले दि वर्ल्ड अफ थ्री जरोज पुस्तकमा लेखेका छन्— «प्रत्येक मानिस जन्मजात उद्यमी हुन्छन् कसैले आफ्नो क्षमता देखाउने अवसर पाउँछन् भने कसैले पाउँदैनन्», उनले त्यस पुस्तकमा लेखेका छन् «कतिपय त आफूभित्र त्यो क्षमता छ भन्ने समेत बुझ्न पाउँदैनन्» । यसरी दुवै जना अर्थशास्त्रीको पुस्तक अध्ययन गर्दा के हामीले नेपाली माटो सुहाउँदो उद्यमशीलता गर्न सकेका छौँ ? के हामीले मौलिकता सहितको उद्यमशीलता गरेका छौँ ?
नेपालको विकास नहुनुको कारण उद्यम गर्ने उद्यमीको कमीको कारणले पछाडि परिरहेका छौँ । उद्यमी भनेको नेपाली वृहत् शब्दकोशमा उद्यममा लाग्ने वा लागेको, उद्योग गर्ने, उद्योगी, मिहिनेती, परिश्रमी अथवा आय आर्जनका लागि गरिने काम पेसा व्यवसाय गर्ने मानिस भनेर उल्लेख गरिएको छ । २०७२ मा जारी भएको नेपालको संविधानले नेपालको सर्वाङ्गीण विकासमा युवा सहभागितालाई प्रोत्साहन गर्ने नीतिहरूको व्यवस्था गरेको छ। यसका लागि संविधानले युवाको व्यक्तिगत विकास र सशक्तिकरण गर्ने उद्देश्यले शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा युवाका लागि अवसरहरूको सिर्जनामा जोड दिएको छ र त्यसै अनुसारका प्रावधान गरेको छ ।
उद्यम भनेको तुरुन्त इनपुट दिएर आउटपुट आउने होइन । विभिन्न माध्यमबाट अनुसन्धान गरेर लगानी लगाएर, फाइदा हुन धेरै पर्खनुपर्छ । राम्रोसँग गर्ने हो भने लगानी गरेको छोटो समयमा नै प्रतिफल पाउन सकिन्छ । उद्यम र व्यापार भन्ने कुरा धेरै फरक छ । कुनै पनि वस्तु खरिद गर्नु, र खरिद गरेको वस्तुलाई केही नाफा राखेर बेच्नुलाई व्यापार भनिन्छ । यस्तै विभिन्न किसिमका कच्चापदार्थ किनेर प्रशोधन गर्ने र त्यसबाट नयाँ ‘प्रडक्ट’ बनाएर बजारमा अथवा ग्राहकसँग बेच्ने अवस्थामा पुर्याउनु उद्योग हो ।
उद्यम गर्ने भनेको ठुला–ठुला उद्योग र कलकारखाना मात्र होइन र हामीले जीविकोपार्जनका लागि गरिने व्यापार, सेवा, उद्योग, व्यवसाय सबै उद्यम हुन् । उद्यम गर्ने व्यक्तिसँग कुशलता, सृजनशीलता, नवप्रवर्तन र जोखिम वहन गर्ने क्षमता हुनुपर्छ । सामान्यतः उद्यमशीलता, युवा अर्थतन्त्र शब्दको शाब्दिक अर्थ फरक फरक भएता पनि यी एक अर्काका बिच अन्तसम्बन्धित छन् । कुनै पनि समाजको समृद्धि तब मात्र कल्पना गर्न सकिन्छ जब उद्यमशीलता र युवा अर्थतन्त्र अन्तरघोलित हुन्छ । समाज आफैमा एक बहुआयामिक विषय हो, जसले आर्थिक, सांस्कृतिक, राजनैतिक, भौतिक र नैतिक रूपमा गाँसिएको हुन्छ । त्यसैले समाजको आर्थिक विकास गर्नका लागि उद्यमशीलता र युवा एक पूर्वआवश्यक तत्त्व हुन्छ । उद्यमशीलता विकास राज्यको साझा दायित्व हो। देशको प्रत्येक स्थानीय तहमा बसोबास गर्ने युवाको दक्षता र सम्भावना उपयोग गर्न उपयुक्त वातावरण निर्माण गर्न राज्यको सबै तहले आफ्नो अधिकार क्षेत्र र सक्षमता बमोजिमका क्रियाकलाप सञ्चालन गर्नु जरुरी हुन्छ। तसर्थ युवा उद्यमशीलता प्रवर्धन तथा उद्यमशील इकोसिस्टमको विकासका लागि संघ, प्रदेश र स्थानीय तहले उपयुक्त भूमिका निर्वाह गर्नु जरुरी हुन्छ।
सन् २०१९ को अन्त्यबाट सुरु भएको कोभिड १९ ले विश्वमा बृहत् आयामिक प्रभाव परेको छ । विश्व अर्थतन्त्र सङ्कुचनमा गएको छ भने जनजीवन अत्यन्तै कष्टकर बनेको छ । कोरोना पछि अर्थतन्त्रमा असर पुगिरहेको अवस्थामा नेपालमा धेरैभन्दा धेरै उद्यम गर्ने मानिसहरूको आवश्यकता छ । देशमा उद्यमको विकास हुने हो भने रोजगारी सिर्जना हुन्छ, प्रत्येक व्यक्तिको आय स्तर बढ्छ, र राज्यको राजस्वमा वृद्धि हुन्छ।
नेपालमा उत्पादन हुने कुराहरूको अन्य देशमा निर्यात बढाउने सम्भावना बढ्छ । आयात घट्छ, राज्यको व्यापार सन्तुलन सुध्रिन्छ । व्यक्ति–व्यक्तिमा सीप र दक्षताको विकास हुन्छ । मौलिक रैथाने वस्तुहरूको प्रवर्धन हुनसक्छ । नयाँ–नयाँ खोज अनुसन्धान गरेर विज्ञान र प्रविधिसँग जोडेर पनि देशमा उद्यमको विकास गर्न सकिन्छ । नेपालको संविधानले युवा उद्यमशीलताको लागि अनुकूल वातावरण सिर्जना गर्ने आधारभूत सिद्धान्तहरू प्रदान गर्दछ। संविधानका प्रावधानहरूले युवा उद्यमशीलताको लागि कानुनी, आर्थिक र सामाजिक रूपरेखा निर्माण गर्न मद्दत पुर्याउँछन्। सरकारको भूमिका भनेको यी संवैधानिक प्रतिबद्धताहरूलाई व्यावहारिक क्रियाकलापमा परिणत गर्नु हो—नीति विकास, पूर्वाधार लगानी, शिक्षा, र समर्थनात्मक कानुनी वातावरण सिर्जना गरेर युवाहरूलाई उद्यमशीलतामा संलग्न गराउनु जिम्मेवार सरकारको दायित्व हो।
विश्वव्यापी अभ्यास र युवा प्रेरणा
विश्वका विकसित देशहरूले उद्यमशीलतालाई महत्त्वपूर्ण स्थान दिएका कारण आजको स्थितिमा पुगेका हुन् । उद्यमीहरूको उद्यमशीलता र लगनशीलताले गर्दा नै आज विश्वका धनी राष्ट्रहरूको अर्थतन्त्रमा बृहत्तर विकास सम्भव भएको छ ।
अमेरिकी एवं युरोपेली समाजले युवाहरूलाई सानै उमेरदेखि उद्यमी हुन उत्प्रेरित गरेको पाइन्छ । स्विडेनमा रहेर संसारभरि नै फैलिएको खुद्रा फर्निचर भण्डार IKEA का संस्थापक इन्गाभार काम्प्राडले सन् १९४३ मा खुद्रा भण्डारको स्थापना गर्दा उनको उमेर १७ वर्ष थियो । माइक्रोसफ्टका संस्थापक बिल गेट्स केवल १५ वर्षको हुँदा उनले सानोतिनो किसिमको व्यापार गर्न आरम्भ गरिसकेका थिए । बिल गेट्सले २३ वर्षको उमेरमा नै माइक्रोसफ्टको प्रमुख भएर सफलता हासिल गरिसकेका थिए । फेसबुकका आविष्कारकर्ता मार्क जुकरबर्गले कम उमेरमै प्रविधिको क्षेत्रमा इतिहास रचे। त्यसैगरी गुगलका सह-संस्थापक ल्यारी पेज र सर्गी ब्रिन, तथा अमेजनका संस्थापक जेफ बेजोस जस्ता उदाहरणहरूले विश्व अर्थतन्त्रलाई प्रविधि र उद्यमशीलतामार्फत नयाँ दिशा दिएका छन्।
नेपालमा पनि निजी क्षेत्रबाट धेरै युवाहरूले कृषि, विज्ञान र प्रविधिको क्षेत्रमा काम सुरु गरिरहेका छन् । ती युवाहरूलाई काम गर्ने वातावरण सहज बनाउन नेपाल सरकारले पहल गर्नु आवश्यक छ । सरकारले स्टार्टअपहरूका लागि पुँजीगत लाभकर छुट, निश्चित अवधिसम्म कर छुट, र इन्क्युबेशन सेन्टर सञ्चालन गरेर उद्यमशीलतालाई अगाडि बढाउनु आवश्यक देखिन्छ ।
यसै परिप्रेक्ष्यमा काठमाडौँ विश्वविद्यालयका सहप्राध्यापक डा. निर्मलमणि अधिकारी भन्नुहुन्छ: «विकास भनेको प्रकृतिसँग तादात्म्य राख्ने, पर्यावरण मैत्री, पारिस्थितिक प्रणाली सापेक्ष विकासको पक्षमा हुनुपर्छ ।» उहाँ थप लेख्नुहुन्छ कि नेपालको धरातलीय यथार्थसँग मिल्दा योजना, परियोजना, भौतिक संरचना र लगानी मात्र हाम्रो लागि वाञ्छनीय हुन् ।
गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा)
नेपाल सरकारले लघु उद्यमको माध्यमद्वारा न्यूनआय भएका गरिब परिवारहरूको आय वृद्धि गरी उनीहरूको जीवनस्तरमा सुधार ल्याउने लक्ष्यका साथ आव २०७५/७६ मा ७७ वटै जिल्लाका ७ सय ५३ स्थानीय तहमा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) सञ्चालन गरिरहेको छ । यस कार्यक्रममा स्रोत सम्भाव्यता अध्ययन, सामाजिक परिचालन, उद्यमशीलताको विकास, प्राविधिक सीप, लघु कर्जामा पहुँच, उपयुक्त प्रविधिमा पहुँच, बजारीकरण तथा व्यावसायिक परामर्श एवं सहयोगजस्ता पक्ष समेटिएको छ ।
तथापि, स्थानीय तहमा उद्यम विकास शाखा स्थापना गर्ने, रणनीतिक योजना तयार गर्ने र कानुनको प्रभावकारी कार्यान्वयन गर्ने पक्षलाई अझै मजबुत बनाउनु पर्छ ।
नेपालको विकसित विश्वव्यापी पहिचानमा खेलकुदको भूमिका
नेपालको परम्परागत नरम शक्ति (Soft Power) लाई विचार गर्दा, राष्ट्र लामो समयदेखि सगरमाथा, बुद्धको जन्मस्थल र पौराणिक गोरखा योद्धाहरूसँग जोडिएको छ। तर, खेलकुद क्षेत्रबाट नेपालको नयाँ छवि र सफ्ट पावर देखापरिरहेको छ—विशेष गरी क्रिकेटमा नेपालको उदय र साहसिक खेलको प्रमुखता।
विश्वव्यापी रूपमा, खेलकुदलाई सीमाना पार गर्ने र मानिसहरूलाई एकताबद्ध गर्ने अद्वितीय क्षमता भएको मानिन्छ। सन् १९७० को दशकमा चीन-अमेरिकाले पिङ-पङ कूटनीति प्रयोग गरेका थिए । ब्राजिल, जापान, दक्षिण कोरिया र कतारले फिफा विश्वकप र ओलम्पिक जस्ता कार्यक्रम आयोजना गरेर आफ्नो अर्थतन्त्र र छवि सुदृढ गरे। भारतको IPL, अमेरिकाको NBA, र बेलायतको Premier League ले खेलकुद अर्थतन्त्रमा अभूतपूर्व योगदान पुर्याएका छन्। पाकिस्तानको सियालकोट सहरले विश्व फुटबलको ७०% उत्पादन गरेर खेलकुद अर्थतन्त्रमा योगदान दिन्छ। तसर्थ, नेपालले पनि खेलकुदलाई प्राथमिक क्षेत्रका रूपमा विकास गर्ने बेला आएको छ।
नेपाली क्रिकेटको उदय र साहसिक खेलकुद
नेपाली क्रिकेटले आफ्नो निडर गेमप्ले र फ्यानहरूको अभूतपूर्व समर्थनका कारण विश्वमा द्रुत गतिमा पहिचान पाइरहेको छ। राष्ट्रिय पुरुष क्रिकेट टोलीले T20 विश्वकपमा सहभागिता जनाउनु र एसिया कपमा भारत-पाकिस्तानविरुद्धको प्रदर्शनले विश्वमञ्चमा नेपालको उपस्थिति दर्साएको छ। घरेलु क्रिकेट लिगहरूले पर्यटन र सांस्कृतिक आदानप्रदानमा ठूलो योगदान दिन सक्छन्।
साहसिक खेलकुदको सन्दर्भमा, नेपाल पर्वतारोहण, ह्वाइट-वाटर राफ्टिङ, कायाकिङ, माउन्टेन बाइकिङ, प्याराग्लाइडिङ, जिप-लाइनिङ, बन्जी जम्पिङका लागि प्रख्यात छ। Adventure Tourism Development Index (ATDI) रिपोर्ट २०२० अनुसार नेपाल विकासोन्मुख देशहरूमा भुटानपछि दोस्रो स्थानमा छ। नेपालमा सगरमाथा म्याराथन, प्याराग्लाइडिङ वर्ल्ड कप, याक अट्याक माउन्टेन बाइक रेस जस्ता कार्यक्रमहरू सफलताका साथ सञ्चालन भइसकेका छन्।
अगाडि बढ्ने मार्ग: 3 'S' रणनीति (Skills, Support, Sustainability)
- Skills (सीप विकास): खेलकुद एकेडेमीहरूमा आधुनिक प्रविधि, SMART लक्ष्य, र योग्य प्रशिक्षकहरूमार्फत एथलीटहरूको शारीरिक तथा मानसिक कन्डिसनिङ गर्ने।
- Support (समर्थन): खेलाडीहरूलाई राष्ट्रको गौरवका रूपमा सम्मान गर्दै खेलकुद बजेटमा वृद्धि गर्ने, व्यावसायिक प्रायोजन जुटाउने र खेल संस्कृति प्रवर्धन गर्ने।
- Sustainability (दिगोपन): अन्तर्राष्ट्रिय स्तरका आधुनिक रंगशाला र प्रशिक्षण केन्द्रहरू निर्माण गर्दै पर्यावरणमैत्री तथा समावेशी खेलकुद इकोसिस्टम निर्माण गर्ने।
निष्कर्षमा, खेलकुद र युवा उद्यमशीलता नेपालको आर्थिक रूपान्तरणको मुख्य स्तम्भ हुन्। सरकारले नीतिगत सरलीकरण, पूर्वाधार विकास, र बजारीकरणको सुनिश्चितता गर्दै युवाहरूलाई स्वदेशमै उद्यमी र स्वरोजगार बन्ने वातावरण सिर्जना गर्नु आजको सर्वोपरि आवश्यकता हो।